‘साना प्राणी प्राथमिकतामा परेनन्’

काठमाडौँ, ९ भदौ : विभिन्न क्षेत्रबाट हुने संरक्षणका कार्य ठूला प्राणीमा बढी केन्द्रित हुँदा साना प्राणीको संरक्षण कार्यले प्राथमिकता पाउन नसकेको यस क्षेत्रका जानकारीले बताएका छन् ।

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनको नवौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँहरुले ठूला प्राणीको संरक्षणसँगै साना प्राणीकोे संरक्षणमा पनि सबैको ध्यान जानुुपर्नेमा जोड दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले फाउण्डेसनले साना प्राणीको अनुसन्धान र संरक्षणमा गरेको कार्यको प्रशंसा गर्दै सानाप्राणीको बासस्थान र रहनसहनमा जलवायु परिवर्तनका असरले पारेको प्रभावका बारेमा पनि अनुसन्धान जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले साना प्राणीको अनुसन्धान र संरक्षणमा चुनौती रहेको औँल्याउँदै विभागका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो । विभागका अर्का उपमहानिर्देशक डा रामचन्द्र कँडेलले साना प्राणीको अध्ययन र संरक्षणमा फाउण्डेसनको प्रयास सराहनीय भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विश्व वन्यजन्तु कोष हरियो वन कार्यक्रमका प्रमुख डा शान्तराज ज्ञवालीले सबैको ध्यान ठूला प्राणी संरक्षणमा केन्द्रित हुँदा साना प्राणीको संरक्षण कार्य ओझेलमा परेको बताउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राणी विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा डा तेजबहादुर थापा, फाउण्डेसनका अध्यक्ष तुलसीलक्ष्मी सुवाल, संस्थापक सागर दाहाल, सचिव नारायण लामिछाने र निर्देशक सञ्जनबहादुर थापाले पारिस्थिकीय प्रणालीको सन्तुलनका लागि ठूला प्राणीसँगै साना प्राणीको संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

प्राणी विज्ञान विषयमा अध्ययनरत विद्यार्थीद्वय दीर्घबहादुर विक र आरती बस्नेतलाई जनही रु ३५ हजार नगद अनुसन्धान छात्रवृत्तिका रुपमा प्रदान गरिएको थियो । फाउण्डेसनले प्रत्येक वर्ष यस क्षेत्रका दुई विद्यार्थीलाई अनुसन्धान छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

Posted By News24Nepal.TV || Date: 25 August, 2018

‘साना प्राणी प्राथमिकतामा परेनन्’

Leave a Reply